|
 |
प्रजित शाक्य 
|
 |
क्रिकेटमा नेपालको आश |
| [2010-03-08 오후 3:53:00] |
.JPG)
|
नेपाली क्रिकेटको सबभन्दा ठूलो लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र विश्वकप क्रिकेटमा खेल्नु नै हो । विगतका प्रदर्शन हेर्ने हो भने एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न योग्य नै देखिएपनि नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मौका भने पाएको छैन । यद्यपि गत हप्ता पेप्सी आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेपछि नेपाल रोड टु वल्र्डकपको एक पाइला अगाडि बढेको छ ।
नेपालले अब आगामी अगस्टमा इटालीमा हुने डिभिजन फोरमा खेल्नेछन् । जहाँ नेपालले आफूसँगै चयन भएको अमेरिकासँगै इटाली, अर्जेन्टिना, तान्जानिया, क्यामी आइलाइन्डविरुद्ध खेल्नेछ । डिभिजन फोरमा पनि शीर्ष दुई स्थानमा रहने टिमले सन् २०१३ मा स्कटल्यान्डमा हुने आइसीसी विश्वकप छनोटमा खेल्ने प्रावधान राखिएको छ । स्कटल्यान्डमा १२ टिमबीच हुने छनोट प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम २०१५ मा हुने विश्वकपका लागि योग्य हुनेछन् । विश्वकपको बाटो हेर्दा विश्वकप क्रिकेट अझै टाढा रहेको भान हुन्छ तर नेपालले आशा भने पक्कै जगाएको छ ।
पछिल्लो संस्करणमा समूह विजेता बन्न सफल भएपनि अफगानिस्तानसँग सेमिफाइनलमा हारेपछि नेपाल डिभिजन फोरमा खेल्नबाट वञ्चित भएको थियो । मलेसियामा सम्पन्न एसीसी ट्रफी क्रिकेट प्रतियोगिताको सातौँ संस्करणमा नेपाल अन्तिम खुड्किलो पार गर्न नसक्दा एसिया कपमा खेलेर एकदिवसीय क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पारेपनि निणर्ायक खेलहरूमा चुकेर सँधै दुष्परिणाम दिने नेपाल सिनियर खेलाडी मानसिक रूपमा सशक्त छैन । यो कुरा यसपटक घरेलु मैदानमा पनि छर्लङ्ग भयो ।
सुरुका चार खेल सहजै जितेको नेपाल अमेरिकाविरुद्धको महत्वपूर्ण अन्तिम लिग खेलमा नराम्रोसँग पछारियो । सो खेलमा नेपाल बलिङ र ब्याटिङमा त ˆलप भयो नै घरेलु टिमको फिल्डिङमा पनि साधारण देखिएको थियो । शायद दर्शकले हुलदङ्गा नगरेको भए नेपालको विश्वकप खेल्ने आशा समाप्त भइसक्ने थियो । नेपालको क्रिकेट छविमा दाग लगाएपनि हुल्याहा समर्थक नै नेपाललाई अगाडि बढाउन सहयोगी बन्यो भन्दा फरक नपर्ला । औसत रन रेटको आधारमा ००.४ ले मात्र नेपालले सिङ्गापुरलाई उछिनेको हो । खेलको अन्तिम समयमा दर्शकले मैदानमा ढुङ्गा, सीसी फालेपछि खेल करिब ४५ मिनेट रोकिएको थियो । त्यसपछि खेल सञ्चालन हुँदा अमेरिकाले डकवर्थ लुइसको नियमअनुसार ४६ ओभरमा १५७ रन बनाउनुपर्ने संशोधित लक्ष्य पायो । जसको फाइदा नेपाललाई पुग्यो ।
नेपालले फाइनलमा भने राहुल विकको शानदार बलिङले अमेरिकालाई सजिलै हराएर मीठो बदला लिएको थियो । उपाधि जितपछि कप्तान पारस खड्काले फाइनलमा चयन हुने दबाब नभएकोले खेलाडीहरूले स्वभाविक प्रदर्शन गरे भन्ने प्रतिक्रियाबाट पनि महत्वपूर्ण खेलमा नेपाली खेलाडी ठूलो दबाबमा उत्रन्छ भन्ने स्पष्ट हुन्छ । क्रिकेटमा मानसिक रूपमा सशक्त हुने खेलाडी धेरै सफल हुने भएकोले पनि ठूला प्रतियोगिताअगाडि खेलाडीहरूलाई मनोवैज्ञानिक प्रशिक्षणको छुट्टै शिविर सञ्चालन गर्नुपर्ने देखिएको छ ।
नेपाल खेलाडीको प्रदर्शनलाई नियाल्ने हो भने प्राय ब्याटिङमा एकरुपता देखाउन नसक्ने नेपालको कमजोरी प्रतियोगिताभर देखियो । आफू अभ्यस्त बनेको घरेलु मैदानमा पनि नेपालले सबभन्दा कमजोर टिम फिजीबाहेक अन्य खेलमा दुई सय रन नाघ्न सकेन । नेपालको बलिङ आक्रमण सँधैजस्तै प्रभावशाली नै छ । तर यसपटक स्पीनरले गर्दामात्र नेपालको बलिङ आक्रमणको धार कम नभएको भान भएको थियो । महबुब आलम र विनोद दासले सटिक बलिङ गरेपनि स्ट्राइकर बलरको हैसियतमा विकेट लिनेमा असफल रहे । निकै आशा गरिएका प्रारम्भिक जोडी दीपेन्द्र चौधरी र महबुब आलमले प्रतियोगिताभरि नै निराश पारे । कप्तान पारस, शरद भेष्वाकर, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीले आवश्यक समयमा मध्यक्रमलाई सम्हालेपछि मात्र नेपाललाई ठूलो क्षति भएन ।
कप्तान पारस खड्का नेपाल टिमको तुरुपको एक्काको रूपमा देखिए । पारसले जर्सी, बहराइन र फिजीविरुद्ध सङ्कटको समयमा क्रिजमा आएर तेज गतिमा क्रमशः ६९, ७१ र ७५ रनको कप्तानी पाली खेले । शरदले पनि चयनकर्तालाई आफूमा कतिको दमखम छ भन्ने देखाए । नेपालका नियमित प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीले व्यक्तिगत कारणले आप\mनो नाम फिर्ता लिएपछि मात्र अन्तिम समयमा मात्र शरद टिममा परेका हुन् । उनले फिजीविरुद्ध खेलेको अविजित १०५ रनको पाली प्रतियोगिताकै एकमात्र शतक थियो । आइसीसी प्रतियोगितामा नेपाली ब्याट्सम्यानद्वारा शतक प्रहार भएको पनि यो पहिलो पटक हो ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा मात्र तेस्रो र शरद छैटौँ स्थानमा रहे । बसन्त, संजम, राहुल र शक्तिको स्पीन चौकडी सँधैजस्तै चम्के । राहुल र बसन्तले १२/१२ तथा संजमले कूल एघार विकेट चट्काए । राहुलले उपाधि भिडन्तमा गरेको जादुगरी स्पेलको सम्झना क्रिकेटप्रेमीहरूले लामो समयसम्म गर्नेछन् । ८.२ ओभरमा १५ रख खर्चेर लिएको सातविकेट प्रतियोगिताकै सर्वश्रेष्ठ बलिङ थियो ।
अमेरिकाविरुद्ध लिग खेललाई छोड्ने हो भने प्रतियोगितामा नेपालले जसरी खेल्यो त्यसले ठूलो आशा जगाएको छ । अब डिभिजन फोर महत्त्वपूर्ण छ । क्षमताअनुसार प्रदर्शन गरे डिभिजन फोर पनि नेपाललाई कठिन चुनौती होइन । डिभिजन फाइभमा गरेको प्रदर्शनले क्रिकेटका जानकार नेपाललाई डिभिजन थि्रमा पुग्ने प्रमुख दावेदर मानेका छन् । क्रिकेट सङ्घले पनि अब यसलाई मनन् गरेर तत्काल नेपाली टिममा भएका कमीकमजोरी हटाउन पहल गर्नु अत्यावश्यक छ । किनभने नेपालसमक्ष अब साँच्चिकै अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा खेल्ने मौका प्राप्त छ ।
00g00
|
|
|

|
|
|