अलिशा सुनुवार, कोरिया

संघर्षमय कोरियाको यात्रा वृतान्त
[2019-06-13 오전 10:56:00]

धेरै नबोल्ने स्वभावको म सानोमा खुबै अल्छी थिएँ । घरमा दुख थियो तथापि मेरा बालसुलभ सस्तिष्कले त्यस्ता कुराहरु बुझ्दैनथे । बाबा सनैमा बित्नुभ​एछ, उहाँ कस्तो हुनुहुन्थ्यो मलाई याद पनि आउँदैन । सात जनाको हाम्रो परिवारलाई आमाले नै अभिभावकको छहारी दिनुभयो । दाई जेठो र बुझ्ने हुनुभ​एकोले उहाँलाई पनि जिम्मेवारी बोध थियो । गाउँकै क्याम्पसबाट +२ सक्काएर द्वन्दकालमा दाई सेनामा भर्ती हुनुभयो । रेडियोमा समाचार आयो कि आमाका कान ठाडा हुन्थे, दाईको खुबै चिन्ता लिनुहुन्थ्यो । समाचार सक्केपछि आफ्नै काममा भुल्लिनुहुन्थ्यो । त्यसबेला म ती कुराहरु बुझ्दिनथेँ, तर निकै नजिकबाट महसुस गरेको छु ।

टाढा थियो हाईस्कुल, सवा घण्टा लगाएर पढ्न जान्थ्यौँ । यस्तै दिनचर्यामा मेरो एसएलसि सक्कियो । +२ अध्ययनका लागि मैले काठमाण्डौं आउने योजना बनाएँ । घरको आर्थिक अवस्थाले मेरो पढाईलाई कुनै सहयोग हुने अपेक्षा थिएन । सुन्दर भविष्यको अभिलाषामा मैले काम गर्दै पढ्ने हिम्मत गरेँ । सुरुमा दिदीकोमा बसेर मैले मेरो पढाईलाई सुरु गरेँ । पत्रपत्रिकादेखि लिएर चिनेजानेकाहरुसँग काम खोज्दै हिँड्न थालेँ । पढाईमा भन्दा बढी समय कामकै खोजीमा जान्थ्यो । काम पाउन निकै मुस्किल​, पाए पनि कमाई नै थोरै । भोग्दै जाँदा बिस्तारै महसुस भयो, काठमाडौं त्यस्तो सुन्दर पनि छैन, जसरी म सोंच्दथेँ । बस मेरै जस्तै विवस जिन्दगी जिउन बाध्य छ काठमाडौं, बिरलै पूराहुने सपनाहरुको धापमा अढेस लागेर ।

पैसाको अभावलाई चरम नजिकबाट नियालेकोले सानै उमेरमा पैसालाई राम्रोसँग नबुझेरै अथाहा पैसा कमाउने छाप मेरो मस्तिष्कमा परेको थियो । +२ सकिने क्रममा एकजना साथीले मलाई कोरिया रोजगारको बारेमा सुनायो । साथीको कुराले कोरिया मेरा लागि यथार्थमै सपना पुरा गर्ने थलो भ​एको महसुस गरेँ र कोरियन भाषा पढ्न थालेँ । केही अत्तोपत्तो नभ​एको भाषा पढेर आफ्नो सपना पुरा गर्नुपर्ने त्यो क्षण मेरो लागि निकै नै कष्टकर थियो । पढ्दापढ्दै किताब मै निदाउँथे, दशनङ्ग्रा खियाएर मलाई हुर्काउने मेरी आमालाई बिर्सेको थिएँ । रातदिन नभनी गरेको मेहनतले सन २०११ मा कोरियन भाषाको परिक्षामा म पास भ​एँ । एकक्षण त्यस्तो भयो जिन्दगीलाई जिते जस्तो, मुठाका मुठा पैसा हातमै परे जस्तो । कोरिया पुगेर पूरा भ​एका आकांक्षाहरुको कल्पनामा म घण्टौं टोलाउँथे । रातभरि ननिदाएको अलिनो आँखा लिएर काममा जान्थेँ ।


झन्डै एक वर्षसम्म पनि श्रम सम्झौता आएन । म आफ्नै दिनचर्यामा व्यस्त हुन थालेँ । सुन्नमा आउँथ्यो कोरियन भाषा पास हुनुनै कोरिया जानु होइन । मनमा अनेक आँधीहुरी चल्थ्यो, तैपनि म चुपचाप थिएँ । वर्षदिनको लामो पर्खाईपछि सन् २०१२ मा श्रम सम्झौता आयो । तब मेरो मनमा अनेकन कुराहरु खेल्न थाले । काम कस्तो हुन्छ होला ? के गर्नुपर्छ होला ? कत्तिको गाह्रो हुन्छ होला ? काम गर्न सकौँला कि नसकौँला ? यी जिज्ञासाहरुले अनुत्तरित रहँदै गर्दा सीसीभीआइ आयो । यसपछि सामान्य तालिम लिँदै गर्दा फ्लाइट सेड्यूल पनि आयो । केही सरसामान किनमेल गरेर मैले मेरो जन्मभूमि छाड्ने तयारी पूरा गरेँ । करिब ६ घण्टाको उडान भरेर सन २०१२ सेप्टेम्बर ८ मा हामी कोरियाली भूमिमा अवतरण भर्यौँ । हामीलाई सिधै ट्रेनिङ हलमा लगियो । हामीसँगै जाने सबैलाई ३ दिनसम्म काम कसरी गर्ने, त्यहाँका मानिस र विदेशीहरुलाई कस्तो व्यवहार कसरी गर्ने जस्ता विषयमा तालिम दिइयो । ट्रेनिङ पश्चात् कम्पनीबाट हामीलाई एकपछि अर्को गर्दै लिन आए ।

कोरिया आउने समयमा कन्ट्र्याक पेपरमा गरेको सम्झौता अनुसार दैनिक १२ घण्टा काम गर्नुपर्ने उल्लेख गरिएको थियो । तर यहाँ गर्नुपर्ने काम मैले सोंचेकोभन्दा कयौँ गुणा फरक थियो । मसँगै जाने सोलुखुम्बुकी एकजना शेर्पा साथी थिइन् । नेपालमा रहँदा कडा परिश्रम नगरेका हामीलाई निकै नै गाह्रो भयो । ५/५ मिनेटको अन्तरमा घडीमा नजर लगाउँथ्यौँ । कहिले १२ घण्टा पुग्ला र रुममा गएर आराम गरौँ भन्ने हुन्थ्यो । भोलिपल्ट बिहान ७ बज्नु अगावै काममा पुग्नुपर्थ्यो । उठ्नु साह्रै गाह्रो लाग्थ्यो । वास्तवमै कोरियाको काम मैले सोंचेको भन्दा कयौँ गुणा गाह्रो थियो । ती दिनहरु यतिधेरै कष्टकर थिए कि, अहिले सम्झदा मात्रै पनि दिमागमा नमिठो पीडाबोध हुन्छ । हाम्रो कम्पनी एकलासको गाउँमा थियो । कोरिया पुगेको तीन महिनापछि घुम्न जाने मौका मिल्यो । अञ्जान त्यो अनकन्टार कम्पनीमा साथीको दाई हामीलाई घुमाउन लैजानलाई लिन आउनुभयो । भाषाको समस्या र कामको थकानले कहिँकतै नगई कम्पनीमै सहारा बिहिन भ​एर बसेका विचरा हामीलाई उहाँको आगमनले ठूलो हौसला मिल्यो, उत्साह जागेर आयो । एकक्षण सबै पीडा भुलेका थियौँ ।

कामले धेरै नै गाह्रो भ​एपछि तीन महिनापछि हामीले साहुलाई दुईवटा प्रस्ताव राख्यौँ, कि हामीलाई नेपाल पठाइयोस् या कम्पनी परिवर्तन गर्ने अनुपमति दिइयोस् । हाम्रो इजी भिसा भ​एकोले कम्पनी परिवर्तन गर्नुपर्दा साहुकै अनुमति लिनुपर्ने हुन्छ । यदि रोजगार दाताले अनुमति दिएको खण्डमा चारवटासम्म कम्पनी परिवर्तन गर्न पाइन्छ । तर साहुले हाम्रो दुवै प्रस्तावलाई अस्विकार गरिदियो । त्यसपछि हाम्रो दिनहरु त्यसरी नै गुज्रन थाल्यो । जसोतसो पीडालाई पीडाकै सहाराले भुल्दै संघर्षमय दिनहरु बिताउँदै गर्दा ६ महिनापश्चात शेर्पा साथी अचानक इल्लिगल भइन् । सुख दुःखका कुरा सुन्ने अनि सुनाउने साथी भन्नु उनैमात्र थिइन् । त्यै साथी पनि इल्लिगल भ​एपछि म अत्यन्तै एक्लो महसुस गर्न थालेँ । कामको चाप र एक्लोपनले म बिस्तारै डिप्रेसनमा पर्न थालेँ । पटक​-पटक हस्पिटल जानुपर्थ्यो । डक्टरले सधैँ स्ट्रेस बढी भ​एछ भन्थ्यो । यसै कारण कोरिया गएको तेह्र महिनापछि एक महिनाको छुट्टी लिएर नेपाल आएँ । मान्छेको बानी व्यवहार जस्तो अभ्यास गर्यो त्यस्तै हुनेरहेछ । नेपालमा आएपछि यस्सै बसिरहन मन भ​एन । के गरौँ कसो गरौँ मात्र भइरहन्थ्यो । कोरियाको कमाईको लोभ लाग्न थाल्यो । मलाई यत्तिकै बस्न मन भ​एन, बिदा सक्काएर पुनः कोरिया फर्किएँ ।

नेपाली कामदारहरु कोरिया आउनुको एकमात्र उद्देश्य भन्नु नै यहाँ हुने कमाई हो । मेरो आफ्नै कुरा गर्दा पनि करिब ६ वर्ष काठमाडौं बसाईको क्रममा नभ​एको बचत यहाँ आएको केही महिनामै भ​एको थियो । नेपालमा काम त गरिन्छ तर, खान लाउन नै मुस्किल हुन्छ । सस्तो मुल्यमा श्रम र समय बेच्नुपर्छ । कोरियामा काम अनुसारको दाम पाइन्छ । तर त्यो काम भनेको तपाई हामीले नेपाली परिवेश संस्कारमा सिकेकोभन्दा कयौँ गुणा फरक छ । नेपाली संस्कारले काम नगर्नेलाई ठूलोठालु भन्छ । कामलाई ठूलो र सानो भनेर दर्जा प्रदान गर्छ । कामकै आधारमा हेप्ने त ढोग्ने गरिन्छ । कामको मुल्यांकन वैज्ञानिक छैन । जसले केहीलाई क्षणिक लाभ मिलेता पनि अन्ततोगत्वा कसैको हित गर्दैन । नेपालमा एकदमै प्रचलित एउटा उखान छ; “राजाको काम कैले जाला घाम ।” यसले हामी नेपालीको काम गर्ने आचरणलाई चित्रण गर्छ । हामी आफ्नो कामप्रति भन्दापनि हाकिम साहुप्रति बफादार हुन्छौँ । हाम्रो संस्कार प्रणालीले पनि यसकै अपेक्षा गर्छ । कामप्रति भन्दापनि हाकिम साहुप्रति बफादार हुनेलाई पुरस्कृत गर्ने गरिन्छ । काम गर्नेहरु जहिल्यै दुई छाक खान र एकसरो लाउनकै लागि तड्पीरहेका हुन्छन । काम गर्नेहरुले कहिल्यै पनि उचित मूल्य र संमान पाएनन् ।

नेपालमा कामदारहरुलाई जोखिमपूर्ण अवस्थामा पनि आधारभूत सुरक्षात्मक सामाग्रीको समेत व्यवस्था गरिएको हुँदैन । यो सवालमा ऐन कानुन पनि मौन छ । यसले कामदारप्रतिको सुरक्षा जोखिमका साथै संमानलाई बुझाउँछ । राज्यले श्रमिकलाई हेर्ने दृष्टिकोणलाई बुझाउँछ । मालिकलाई काम मात्रै चाहिएको हुन्छ । राज्यलाई आफ्ना नागरिकप्रति जिम्मेवारीबोध छैन । श्रमिकलाई दिनुपर्ने सेवा, सुविधा, सुरक्षा जस्ता सवालमा नत राज्यले नै सोंच्न सकेको छ​, नत मालिकहरुले नै । श्रमिकलाई त झन न आफ्नो श्रमको मूल्य थाहा छ​, नत यो सम्बन्धी कुनै चेतना नै । मजदुरको नाममा अनेक यूनियनहरु जन्मिएता पनि त्यो राजनैतिक स्वार्थबाट निर्देशित मजदुर र मालिकलाई ठगी खाने सिमित व्यक्तिहरुको धन्दा मात्रै भएको छ । जबसम्म देशले काम गरिखाने वर्गलाई संमान दिँदैन​, तबसम्म त्यो देशले श्रम गर्दैन । जुन देशले श्रम गर्दैन​, त्यो देशले कुनैपनि हालतमा समृद्धि हासिल गर्न सक्दैन ।

धेरैको मानसिकतामा कोरिया जानेबित्तिकै सजिलै पैसा कमाइन्छ भन्ने भान परेको हुन्छ । तर जहाँ ग​एपनि पैसा कमाउन सजिलो हुन्न रहेछ भन्ने मैले यहाँ आएपछि बुझेँ । पैसा श्रमको एउटा रुप हो । तपाई जतिधेरै श्रम गर्नुहुन्छ, त्यति नै मात्रामा पैसा प्राप्त गर्नुहुन्छ । त्यहाँ श्रम नै पैसामा रुपान्तरण भ​एको हो । आवश्यकताअनुसार पैसालाई श्रममा रुपान्तरण गर्न सकिन्छ र श्रमलाई पैसामा रुपान्तरण गर्न सकिन्छ । सरकारले काम गर्ने वातावरण मिलाइदिने हो भने, कोरियामा गरेको कामले नेपालमै पनि कमाउन सकिन्छ ।

सुरु-सुरुमा भाषाको कारणले साहुले के भन्थ्यो, केही बुझ्दिनथेँ । तीन महिनासम्म त खासै केहि पनि भनेन । तर​, त्यसपछि साहुले पालि-पालि (छिटो-छिटो) भन्न थाल्यो । कोरियामा साहुले आफ्नो कामदारलाई भन्ने शब्द नै पालि-पालि हो । “फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन” भनेझैँ सुरुमै छिटो-छिटो काम गर्यो भने कोरियनहरुले पछिसम्म नै यसले छिटो गर्नेरहेछ भन्ने ठान्दछन् । कोरियनहरुको धारणामा जुनसुकै काम पनि छिटो गर्नुपर्छ भन्ने हुन्छ । कोरिया आउनेले सजिलो कामको अपेक्षा लिनुहुन्न । कोरिया कल्पना गरेभन्दा निकै फरक र गाह्रो छ । जति पैसा दिन्छ त्यति नै श्रम पनि लिन्छ । तपाईलाई गाह्रो भयो या सक्नुभ​एन भनेर दयामाया राख्दैनन । तलब दिएपछि काम पनि बराबर खोज्छन् । कोरियनहरुको काम गर्ने शैली नेपालीकोभन्दा नितान्त फरक छ।

यहाँ आउनेले पहिलो सर्त कोरियन भाषा जानेको हुनुपर्छ । जुन कोरियाली सरकारले सञ्चालन गर्छ । भाषा परिक्षा इपीएस अन्तर्गत तोकेको कोटामा उत्कृष्टलाई मेरिटको आधारमा परिक्षार्थीहरुको नाम प्रकाशन हुन्छ । दोस्रो सर्त भनेको तपाई स्वस्थ हुनु अनिवार्य छ । मापदण्डअनुसार मेडिकलमा फिट हुनुभयो भने तपाईको लागि कोरिया आउने बाटो खुल्नसक्छ । तर यो आफैमा शतप्रतिशत भने होइन । यति हुँदाहुँदै पनि कहिलेकाही तपाईका लागि कोरिया आउने अवसर नमिल्न सक्छ । यो विषयमा तपाई पूर्वसूचित हुनु आवश्यक छ । नेपालीहरु चलाख र इमान्दार भएकोले कोरियामा नेपाली कामदारहरुको माग बढ्दो दरमा छ । यसले सस्तो दरमा वैदेशिक रोजगारीमा विदेशिएका नेपालीहरुको भन्दा राम्रो कमाई गर्ने अवसर दिएको छ ।


कोरियामा म्यान्यूक्याक्चरिङ र कृषि गरेर दुईवटा प्रयोजनका लागि नेपाली कामदारहरु ल्याइन्छ । सुन्नमा यी दुई शिर्षक जति सहज लागेता पनि काम गर्नुपर्दा त्यति सहज अवश्य छैन । हुनतः कुनैपनि कामलाई फोहोरी वा नराम्रो नजरले हेरिनुहुन्न । तर पनि हामी नेपालीहरुको मानसिकतामा परेका त्यस्ता कामहरु जति कठिन छ, त्योभन्दा पनि काम सुरु गरेपछि मेसिनले जसरि अन्तिमसम्म एकोहोरो गरिराख्नु कयौँ गुणा कठिन छ । जुन हामी आराम गर्दै काम गर्ने बानी परेका नेपालीहरुलाई सबैभन्दा ठूलो चुनौतीपूर्ण छ । कामलाई संमान गर्ने आदर्श सोंच भ​एका जस्तोसुकै काम गर्न तयार छु भन्नेहरुका लागि कोरिया राम्रो कमाई गर्ने अवसर हुनसक्छ । अन्यथा कोरियामा हुने कमाईलाई मात्रै हिसाब गरियो भने त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । यिनै कुराहरुलाई विचार पुर्याउन नसक्दा नेपालीहरुलाई कोरियामा दिन प्रतिदिन अनेकन समस्याहरु आइरहेको छ । अधिकांश नेपालीलाई होमसिकको अवस्था छ भने, पछिल्लो समय कोरियामा नेपालीहरु मर्नेक्रम पनि बढेको छ । आत्महत्याका घटनाहरू र सुतेको ठाउँदा सुतेको सुतेई हुने समाचारहरू आइरइहेका हुन्छन् । एक्लोपन, कामको तनाब, घर परिवारको पीरले कोरियामा नेपाली मर्नेको सङ्ख्या बढ्दो दरमा छ ।

लामो समयसम्म काम गरिरहदा खानामा रुचि हुँदैन । कामको समयमा लगातार काममात्र हुन्छ । शरीरमा पानीको मात्रा कम पर्ने हुँदा बेला-बेलामा पानी पिउने गर्नुपर्छ । ३ देखि ६ महिनाको अन्तरालमा स्वास्थ्यजाँच गराई राख्नुपर्छ । कोरिया आउने अधिकांशलाई गानो, ज्ञास्टिक, हड्डी खिइने, नशा खुम्चिने जस्ता रोगहरू लाग्नेगर्छ । निहुरिएर लगातार ११/१२ घण्टा काम गर्दा न टुक्रुक्क बस्न पाइन्छ नत जुरुक्क उठ्न नै । लगातार घोप्टो परेर काम गर्दा अत्ति पीडा हुन्छ । झन फलामको काम गर्नेलाई त यत्ति गाह्रो हुन्छ कि सितिमितिले त्यो खप्नै सक्दैनन् । फलामको काम गर्ने अधिकांशलाई नशा र हाड सम्बन्धी समस्या हुन्छ । यस्तरी दुख गर्दापनि कत्तिको कम्पनी डुबेर तलब नपाइरहेको अवस्था छ । एकजनाकै नेपाली पैसा करोड हाराहारीमा तिर्नुपर्ने हुन्छ, अदालतमा मुद्दा जितेपनि उसले तिर्नसक्ने अवस्था नै हुँदैन । अपवाद बाहेक यहाँको रोजगारीमा केहिन केही खोट हुन्छ । कसैको तलब राम्रो हुन्छ, काम गाह्रो पर्छ । कसैको काम ठिकै पर्छ​, तलब राम्रो हुँदैन । कसैको रुम भाडा बढी काट्छ, कसको छुट्टी हुँदैन ।

अहिले कोरियामा प्रवासी मजदुर संगठन (एमटीयू) स्थापना भ​एको छ । यो सङ्गठनले इपिएस खारेज गरेर डब्लूपिएस लागु गराउन पहल गरिरहेको छ । डब्लूपिएस कामदारले आफ्नो इच्छाले काम परिवर्तन गर्न पाउने अधिकारसँग सम्बन्धित छ । इपिएसबाट कोरिया आउने कामदारले अत्यन्तै कठिन परिस्थितीमा पनि आफ्नो मर्जीले काम परिवर्तन गर्न सक्दैन । सबै अधिकार साहुको हातमा हुने हुँदा साहुले पनि कामदारलाई सकेसम्म अन्त नजाओस् भन्ने ठान्छ । संयोगले साहु राम्रो परे त ठिकै हो, नत्र काम गर्न नसकेर जान्छुभन्दा सामान जति सबै निकालेर फाल्दिने र रुममा ताल्चा लगाइदिने गर्छ । वैधानिक रुपमा अनुमति दिँदैन तर जहाँ जान मन छ जा भनेर अत्तो थाप्ने काम गर्छ । विशेषगरि यस्तो समस्या एग्रीकल्चरमा पाइन्छ । खान​, बस्नको असुविधा, रुम भाडा धेरै काट्ने, थोरै तलब, धेरै नै गाह्रो काम भ​एको अवस्थामा काम परिवर्तन गर्ने अनुमति माग्दा कम्पनीले नदिएको खण्डमा मान्छेहरु इल्लिगल हुने गर्छन । काम परिवर्तन गर्न पाउने हद कटेका तर सन्तुष्ट नभ​एकाहरू पनि इल्लिगल हुन्छन् । त्यसैगरि कन्ट्र्याक सकिएका तर नेपाल फर्किन मन नहुने, उमेर कटेर कोरिया फर्कन नपाउनेहरु तर अझै कमाउँछु भन्नेहरु पनि इल्लिगल हुने गर्छन् ।

नेपाल सरकारले पनि विप्रेषणबाट देश चलाउँदै राजस्वमा चयन गर्नेमात्र नभई कोरियामा नेपाली कामदारले भोग्नुपरेका समस्यालाई मध्यनजर गरेर कुटनैतिक तवरबाट श्रम सम्झौतामा आफ्ना नागरिकहरुको हितानुकुल गराउन सके विद्यमान समस्यालाई न्यूनिकरण गर्न सकिन्छ । अन्यथा भविष्यमा यसले झन ठूलो विकराल रुप नलेला भन्न सकिन्न ।

-यो लेख अलिशा सुनुवारको सहयोगमा शाङ्थेम कोइँचले तयार पार्नुभ​एको हो ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com