भवानी बराल

गान्धीको गोप्य अङ्ग, ल्यापटप र ‘ल्यापडग’ पत्रकार
[2019-06-13 오후 5:16:00]

महात्मा गान्धीले कुनै प्रसंगमा भनेका थिए, ‘म पत्रकार र फोटोग्राफर बाहेक सबैलाई समानता होस भन्ने चाहन्छु ।’ गान्धीले पत्रकारिताका बारेमा धेरै मसिना व्यवस्थापनका कुरा पनि उल्लेख गरेका छन् । मिडिया कण्टेण्टको व्यवस्थापन विषयमा गान्धीको पुस्तक ‘हिन्द स्वराज’ मा धेरै व्याख्या छ । तर, माथिको वाक्य गठनको गुत्थी अझैसम्म खुल्न सकेको छैन ।

गान्धी अर्धनग्न (धोती मात्र लगाउने) भएकोले सम्भवतः फोटोग्राफरहरु गान्धीको गोप्य अङ्गतिर क्यामेरा तेर्साउँथे र उनले यसो भनेका पनि हुन सक्छन् । गान्धीको अर्धनग्न फोटोलाई ‘एक्सक्लुसिव’ बनाउन सके, नयाँपन दिनसके फोटो विक्रीयोग्य हुने थियो र व्यवसाय फस्टाउने थियो भनेर फोटोग्राफर लागेका हुन सक्छन् । फोटोग्राफरसँगै पत्रकारलाई पनि तानेको प्रसङ्ग भने बुझिनसक्नु पहेली हो ।

यसको अर्थ यो होइन कि गान्धी प्रेस स्वतन्त्रता विरोधी थिए । उनले प्रेस स्वतन्त्रताका सापेक्ष पक्षमा खुलेर धारणा राखेका छन् । गान्धी आफै पनि पत्रकारिता गर्थे । आफ्नै व्यवस्थापनको साप्ताहिक अखबार ‘इण्डियन ओपिनियन’ को सम्पादक थिए । दक्षिण अफ्रिकादेखि भारतसम्म उनले पत्रकारिता गरे । गान्धीले ‘इण्डियन ओपिनियन’ मात्र होइन हरिजन, योङ इण्डिया, दैनिक नवजीवन र हरिजनसेवक आदि पत्रिकासँग पनि जोडिएर जनपक्षीय पत्रकारिता गरे ।

गान्धीले उत्तिखेर राजनीति नैतिक मूल्यरहित भएको ठह¥याएका थिए । राजनीतिमा फसेर जसरी मानिसहरुको आत्मा छटपटाई रहेको छ, कुनै दिन पत्रकार पनि व्यवसायमा फसेर छटपटाउने छ भनेका थिए । यसैले गान्धीले पत्रकारितालाई व्यवसाय मान्न इन्कार गरे । उनी पत्रकारितालाई मिसनको रुपमा मात्र हेर्न चाहन्थे । पत्रकारितामा उनको मिशन नैतिक मूल्य स्थापना गर्नुु, सत्य–अहिंसा र सत्याग्रहमा अडिग रहनु, साम्राज्यवादको विरुद्ध संघर्ष गर्नु एवम् यो प्रस्थानविन्दूबाट भारतको राजनैतिक स्वतन्त्रतालाई सही मार्गमा हिँडाउनु थियो ।

गान्धीका यी विचारहरु अहिले झनै जीवित भएका छन् । राजनीतिको रङ्ग, मूल्य मान्यता खुइलिसकेको बेलामा लक्ष्यमुखी पत्रकारिता आजको अपरिहार्य आवश्यकता हो । नेपालको सन्दर्भमा यो विचार झनै काम काट्ने सूत्र हो । भर्खरै राजनैतिक आन्दोलनको बैठान संविधानले संस्थागत गर्न गइरहेको छ । संविधानले समाजवाद उन्मुख अर्थ–राजनैतिक व्यवस्थाको घोषणा गरेको छ । यस्तो बेलामा लक्ष्यमुखी पत्रकारिता व्यावसायिकताको नाममा भड्किनु हुन्न ।

ल्यापटप र ‘ल्यापडग’ पत्रकार

प्रदेश नं १ उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाले त्यहाँका २७ जना पत्रकारलाई ल्यापटप उपहार दिएको समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पत्रकारले ल्यापटप लिनु हुने या लिनु नहुने विषयमा पक्षविपक्षमा बहस छेडिएको छ । पत्रकार आचारसंहिताको धारा केलाएर अनलाइन सञ्चारमाध्यममा विभिन्न कोणबाट समाचारको बाढी आएको छ । ल्यापटप प्राप्त गर्ने पत्रकारको नामै ‘ल्यापटपे’ जुराइएको छ । कतिपयले ‘ल्यापटप लिनेहरु ल्यापडग बने भने..’ शिर्षक राखेर समाचार बनाएका छन ।

(हेर्नुहोस : पत्रकार आचारसंहिता ०७३ को दफा ५ को उपदफा १३ को व्यवस्था : पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।)

पत्रकारितामा वाचडग शब्दावली प्रचलित छ । नेपाली भाषामा यसको अनुवाद निको नलाग्ने भएकैले होला अंग्रेजीबाटै काम चलाउने गरिएको छ । कुनै पनि विषयलाई निगरानीमा, राख्नु पहरा दिनु भन्ने वाचडगको अर्थ हुन्छ । वाचडगको भूमिकामा पत्रकारिता रहनुपर्छ भन्ने हो ।

तर, यो भूमिकाको विपरीत गर्ने वा कसैको खेलौना, पक्षधरता लिइयो भने त्यसलाइ ‘ल्याप डग’ भनिन्छ । हिन्दीमा यस्तो भूमिका गर्ने पत्रकारितालाई ‘गोदी’ अर्थात ‘काखे’ मिडिया नाम जुराइएको छ ।

रह्यो कुरा उदयपुरका मिडियाकर्मीहरु ल्यापटप लिएर ल्यापडग हुन्छन हुन्नन भन्ने आशंकाको कुरा । कुनै पत्रकारले ल्यापटप लिँदैमा वा पाउँदैमा ल्यापडग भइहाल्छ भन्ने कुरा पूर्व अनुमान मात्रै हो । लिनु हुन्न भन्ने कुरा पनि नेपालको सन्दर्भमा खण्डित भइसकेको विषय हो । माथिको आचारसंहिता अनुसार सम्भवतः कोही पनि शुद्ध छैन । ‘पेशाागत मर्यादा तथा दायित्वमा प्रतिकुल प्रभाव पर्ने गरी’ यो अमूर्त पदावलीको पनि अर्थ छैन । सरकारी, गैरसरकारी पुरस्कार, उपहार, सम्मान नलिने कोही पनि भेटिन्न । केन्द्रदेखि स्थानीय तहसम्मको फेहरिस्त ल्याउने वा कुनै पनि पत्रकारको बायोडाटा लिने हो भने सम्मानित नहुने भेट्न सकिन्न । यहाँसम्म कि मदिरा व्यवसायी संघको पुरस्कार सम्मान लिन पत्रकारले भ्याइ सकेका छन् । यसर्थ आचारसंहिता आकर्षित हुन्छ भनेर कोलाहल मच्चाउनु आफैमा उदेकलाग्दो विषय हो । सरकार तथा यससँग सम्बन्धित संघसंस्थाले राखेको पुरस्कार लिनेको होडबाजी त रमिता लाग्दो नै हुने गरेको छ । यो आचारसंहिता अनुसार कसैले शुद्धताको दावी गर्छ भने त्यो नेपाली पत्रकारिताको आधुनिक गान्धी हो । स्थानीय तहको पत्रकारिताको विकासमा त्रियुगा नगरपालिकाले गरेको सहयोगलाई अन्यथा मान्नु पर्दैन । मिडिया विकासको लागि संस्थागत प्रयास गर्नु राम्रो पक्ष हो । पत्रकारितालाई पनि विकासको अवधारणाभित्र लिने गर्नु पर्छ । सडक, ढल, पाटी, पौवा बनाउनु मात्र विकास होइन । स्थानीय सरकारले गरेको यो भूमिका उसको दायित्वभित्रकै हो । तर, ल्यापटप लिएकोमा आलोचना हुँदा उदयपुर पत्रकारका संगठनले प्रेस विज्ञप्तिमार्फत पस्टीकरण दिनु पर्दैन थियो । उनीहरुले परिणाममा वाचडगको भूमिका खेले भइहाल्छ ।

आजको पत्रकारिता र गान्धीको सूत्र :

पत्रपत्रिका, मिडियाको काम सूचना दिने मात्र होइन । यसले जनतालाई शिक्षित गर्ने, जनमत निर्माण गर्ने काम हो । आजको नेपाली पत्रकारिता त्यो दिशामा खरो उत्रेको छ ? के नेपालका सबै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अन्तरविरोधहरु समाप्त भए ? आजको नेपाली पत्रकारिता कतातिर गइरहेको छ ? नेपाली मिडिया गोदी (काखे) मिडिया भएको त छैन ? सबैभन्दा बढी त नेपाली पत्रकारिता पीत मार्गमा गएको कुरा आमसमुदायले महसुस गरेका छन् । के यही हो मिडियाको विकास र व्यावसायिकता ? व्यावसायिकताको नाममा नेपाली मिडिया फेक, पीत र पेड आरोपयुक्त छ ।

गान्धीले इण्डियन ओपिनियन पत्रिकामार्फत दक्षिण अफ्रिकामा रहेका प्रवासी भारतीयको मुद्धालाई उठाएका थिए । उनीहरुको समस्यालाई उठाउँदै अधिकार प्राप्त गर्न सजग बनाएका थिए । स्वतन्त्र जीवनको महत्व बुझाउँदै सामाजिक तथा राजनैतिक चेतना भरेका थिए । नश्लभेदी व्यवस्थाको विरुद्ध उठाए ।

नेपाली पत्रकारिताले विदेशमा बसेका लाखौं नेपालीलाई यस्तो जागृत गराउन सकेको छ ? के यो नेपालको ठूलो समस्या होइन । प्रथम र दोस्रो विश्व युद्धमा मरेकाहरुको त हिसावै भएन । विदेशी भूमिमा युद्ध लडेर खाली खुट्टा फर्किएकाहरु त्यत्तिकै विते । तर बाँचेका युद्ध भेट्रानहरु आज पनि बेलायतको बकिघंम दरबार अगाडि समानताको नारा लाउन बाध्य छन् । मुलुकको समृद्धि र विकासका समस्याहरु त जीवितै छन् । हिन्द प्रशान्त रणनीतिको चेपुवामा परेर कुनै पनि दिन मुलुक रणमैदान हुने निश्चित झै छ । नेपालको भूराजनैतिक परिस्थितिले अझै लक्ष्यमुखी पत्रकारिताको माग गर्दछ । यो विषय नेपाली पत्रकारितामा खड्किएको छ ।

रहलपहल :

सूचना प्रविधिको विकाससँगै आजको पत्रकारिता प्रभावशाली माध्यम हो । यसले निमेष भरमै जनमत निर्माण गर्न सक्छ । तर आजको पत्रकारिता लक्ष्यमुखी छैन । व्यावसायिकताको नाममा उसले नैतिक मूल्यबाट अलग हुँदै गएको छ । यो माध्यमलाई धमाधम व्यापारीहरुले दुरुपयोग गर्न सुरु गरेका छन् । पूरै हटिया र वनियाको हातमा पुगेको छ र विज्ञापनमा आश्रित छ । आजको मिडिया ठूलठूला भ्रष्ट पुँजीपतिको कठपुतली बनेको छ । जनजीवनसँग उसको सम्बन्ध कट्दै गएको छ । फेरि उसले सामाजिक रुपान्तरणको नैतिक मूल्य स्थापित गर्ने काममा उभिन सक्छ भन्ने प्रश्न उठेको छ ।

आजको पत्रकारिताको सन्दर्भ बुझ्नलाई पनि महात्मा गान्धीलाई पढ्न जरुरी छ । दक्षिण अफ्रिकाको आफ्नो अखÞबारी कर्मको याद गर्दै महात्मा गान्धीले आफ्नो आत्मकथामा लेखेका छन, ‘समाचार–पत्र सेवाभावबाट नै चलाउनु पर्छ । समाचार–पत्र एक जबर्दस्त शक्ति हो । तर, जसरी बर्खे बाढीले गाउँगाउँ डुबाउँछ र अन्नपात नष्ट गरिदिन्छ । त्यसै प्रकारले एउटा खराब कलमको प्रभावले त्यही नियति गर्छ । यदि त्यस्तो निरंकुशता बाहिर (विदेशी प्रायोजन) बाट आयो भने धेरै विषालु हुन्छ । बरु आन्तरिक अंकुश त्यो भन्दा लाभदायक हुन्छ ।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com