आलु जिन्दगी
भुईचालोले धाजा फाटेको बारीमा
फलेका आलु बेचेर
मेरी आमा
कयौं आलुजस्तैं सपनाहरु
किनेर मकैंको झुत्ताजस्तैं
थाक्रोमा झुन्डाईदिनुहुन्छ ।
बैंशाखमा खडेरीले बर्रा डांडामा
धुलो उडाउन थालेपछि
मेरा बा
उडेर आकाश छुन नसकेका
मेरा आलुजस्ता सपनाहरु
बजारमा लगेर बेच्ने सपना
कुंदनुहुन्छ ।
आलु आलुजस्ता आलुहरुको
भीडमा हराएर
टमाटरको अचार बन्न नसकेको
म मुलांगखरे
मेरै करेसाको
आलुको तरकारी
आलुदम
आलु तामा
आलुसाग
आलुको अचार
आलुचप
आलुचिउरा
आलुको समोसा
खाएर आलुजस्तैं सर्वापरी भएको छु ।
परिक्षामा फेल आलु
काम गर्न जानेन आलु
जेमा पनि फिट आलु
आलुजस्तो जताततैं मिल्ने आलु
आलु नैं आलु खाएपछि
मेरो जिन्दगी पनि आलुजस्तो
सबैंतिरबाट
थिचिएर,चेप्टिएर
आलुजस्तैं आकारको भाछु ।
तर
मैंले सधैं खाने आलु
कुहिएर फयात्त भयो भने
तिमीलाई कुहाएर
फयात्त बनाईदिन्छु आलुजस्तैं ।

लठ्ठीको आविस्कार
मैले
जसरी बनाएँ,यो लठ्ठी मेरै भलाईको निम्ती
परिणामको बोक्रा फरक देखियो ,

मैले
मज्जाले खिपेको यो लठ्ठीले
आज मेरै सहारा बन्न ईन्कार गर्छ

मेरै टाउकोमा बजारिनु खोज्छ

लठ्ठिको बाँङ्गिएको भागबाट
यतिबेला जन्मिरहेछन्-करोडौँ विष-बिच्छिहरु
यिनिहरु
दुईबाट चार, चारबाट आठ,आठबाट सोह्रको हिसाबले
पला-पलामा बढिरहेछन् ,

म डराईरहेको छु,
बिस्तारै-बिस्तारै मैले कहाँ टेक्नेछु?
बिस्तारै-बिस्तारै मैले कहाँ देख्नेछु?

बिच्छिहरुले ढाकेको-
आकाशबाट निलो रङ कसरी देख्नेछु?
धरतीबाट हरियो रङ कसरी भेट्नेछु?
बिच्छिको थुप्रोबाट
अलिकती छिरेको उज्यालोबाट पनि
आँखिर बिच्छी नै त देख्नेछु ,
र देख्नेछु-तिनिहरुले टोकिरहेको सुर्यलाई !

बिच्छिहरुले छोपेको
यो ब्रह्माण्डबाट
हटाउनैपर्नेछ-यि काला बिच्छिहरु,
नत्र त
ताराहरुको गाउँमा
स-साना घामजुनका राता/पहेँला बच्चाहरूलाई
टोकि-टोकि सक्नेछन् यिनिहरुले,
र फेरि सदाको लागी मर्नेछ- उज्यालो !

हिजो
मैले लठ्ठी बनाएकै हो,
जसको सहाराले
म जस्तै झुसे दारी बोकेर बुढो भैइरहेको
यो पृथ्विलाई ढल्नुअघी
दिन सक्छु कि सहारा भनेर;
जसको सहाराले
यसरी धुजा-धुजा च्यातिएको यो आकाशको छातालाई
टेको लगाउन सक्छु कि भनेर ;
सुनामीको बेगबाट
आधिँको आबेगबाट
आगोको डँडेलोबाट
पहाडको पहिरोबाट
मान्छे जातीले शासन गरेको
एउटा घर जोगाउन सक्छु कि भनेर !

लठ्ठी
बनाउँदा मैले, यो सोचिनँ कि-
लठ्ठीले आतंक ल्याउँछ,
लठ्ठीले निरंकुश शासन चलाउँछ,
लठ्ठिले कानुन बनाउँछ
लठ्ठिले कानुन च्यात्छ
लठ्ठीले धर्म बनाउँछ
लठ्ठीले धर्मग्रन्थ च्यात्छ
लठ्ठीले जाती/लिङ्ग बिभाजन गर्छ
लठ्ठीले मालिक जन्माउँछ
लठ्ठीले श्रमिक जन्माउँछ

मैले
यो पनि सोचिनँ कि-
लठ्ठिले यो पृथ्वी थाम्छ र ढलाउँछ पनि,

आज
आफैले बनाएको लठ्ठीमुनि
यतिबिघ्नँ डराएर बस्नुपर्नेछ, यो पनि मैले कहिले सोचिनँ !

उमेरमा
जब मैले यो लठ्ठी बनाएँ,खाली यो सोचेँ कि-
यो मेरो बुढेसकालको सहारा हो,

मेरो सोचाईले यसरी फेल खायो कि
जसरी
पाल्नेछ भनेर सोचेको एउटा छोराले
आफ्नो बाउआमालाई
बुढेसकालमा आफुबाट निक्कै परको
धर्मशालामा हुत्याईँपठाउँछ....

जिवनको अन्तिम प्रहर
एउटै काम गर्नुछ,

यो लठ्ठीको बढ्दैगरेको झुस्स दारी खौरिनुछ, जहाँ
झुण्डिएर पिङ्ग खेलिरहेछन्-
आतंककारी/अहमकारी बिच्छिहरुको कानुन !

हिर्कायो....
हिर्कायो।
बेस्सरी हिर्कायो।
अनाहकमा थापी रहें
नदुख्नु थ्यो,दुखिरह्यो।
नदुखेको अभिनय गरिरहें।
ओठमा गुराँस फुलाएँ।
आँखाहरुमा ताराहरु टल्काई रहें।
त्यो गल्यो।
फतक्क गल्यो र थुचुक्क बस्यो।
मुसुक्क हाँसे।
त्यो जल्यो।
धुवाँ-धुवाँ भयो।
नजर आकाश मास्तिर डुलाएँ।
त्यो उड्यो।
सुस्त सुस्त कतै बिलिन भयो।
दसक बितेर गयो।
मेटिएन त निलडाम।
सहज भएको छ बाँच्न अचेल।
सोच्ने गर्छु त्यो...
माया थियो या,थियो जिन्दगिको पाठ?

यथार्थमा दशैँ
सोँच्छु
बूढो हुँदै जानू भनेको
बिगतहरु खात् लाग्दै जानू रैछ
दिमागको आल्मारीमा
जसरि छ घरमा पढ्दै राखेको
किताबहरुको चाङ
सानोबेला
दँशै आउँथ्यो
बोकि ल्याउँथ्यो उमङग एकाबिहानै घामले
उफ्रिन्थ्यौँ न्यानोपनमा
बाख्रापाठा सँगै
चाहिन्थ्यो नयाँ लुगा
खानु त उस्तै हो
लाग्थ्य‍ो घरको अगेना माथि धेरै झुण्डियोस् मासु
बाबाले दक्षिणा धेरै दिउन् पैसा
खुवाउन् आमाले मिठोमिठो परिकार पकाएर
आमालाई झिँजाउने मौका खुब थियो
सताउँथ्यौँ बेस्सरी
माकुराका बच्चाहरुले झिँजाउँछ कसरी आमालाई
सबै पुराईदिनुहुन्थ्यो बाले आमाले
नपुगेर कै रोएर माग्नु परेन
खेल्नलाई, खानलाई अनुमति मागिएन
जे जे भन्यो तै तै पाउने भएर होला
सायद भनियो सम्पुर्णतालाई दशै केटाकेटीमा
अहिले,
उमेरले मध्यान्तर नाघिसक्यो
पश्चिम क्षितिज उक्लँदैगरेको घाम झैँ
समय अनुकुल, प्रतिकुल बन्दै चुनौती दिईरहन्छ
जिन्दगीलाई
हरेक बर्ष आउँछन् दशै र तिहारहरु
तर अचेल आउँदैन त्यो केटाकेटीको दशैँ
बरु ठिक उल्टिएर आउन थालेको छ
म सानो हुँदाका मेरा बा आमा
ठिक मै भएको छु अचेल
र थुप्रै लालाबाला प्रति छ मेरो जिम्मेवारी
फुकाईदिनु छ उनिहरुलाई
खुसिका पोकाहरु
उमङगका लट्टाईहरु
र सजाईदिनु छ आगनमा दशैँ
जसरि मेरा बा आमाले
मेरो लागि गर्नुभएको थियो
मलाई लाग्थ्यो
म जत्तिकै बा आमा पनि खुसि थिए होलान् त्यो दशैँमा
तर होईन रहेछ
आाफ्नो रहरबाट टाढै रहेर पो
ल्याउनुपर्दोरैछ घरमा दशैँ नानीहरुलाई
सन्तानको ओठओठमा
खुसि बाल्नको लागि
आफु जल्नुपर्नेरहेछ तेलमा लिपिएर दीयो
कति चाँडै दगुरेर आयो समय
र सिकाएर भाग्यो तै बाटो
दशैँको बास्तबिकता
केटाकेटीको रहर
र बा आमाको बाध्यता ।


शकुन आँसु,खोटाङ
हाल- दक्षिण कोरिया

संघार
यसरी तिमी आयौ कि-
सँगै यो उमङ्गको
आकाश बर्सौपछी मुस्कुरायो,
खुशीको लहराहरु
उजाड तारेभिरमा लहराउन थाल्यो,
पोटिलो-पोटिलो
भएर हरियो चम्किन लाग्यो-सुख्खा पहाडको गालाहरु !

फूल
फूलजस्तै देखिनुको अर्थ फूलमा तिमी मिसिनु रहेछ,
ताराहरु चम्किनुको अर्थ तिम्रो धक्धक-धड्कन धड्किनुरहेछ,
यो सृष्टि
शान्त, सौम्य,निर्दोश प्रेमिकाजस्तै
अलिकति मुस्कुराउनुको अर्थ तिम्रो कदमको कोमल स्पर्शले पो रहेछ!

तिम्रो आगमनले-
यि रेलहरु चले, बत्तिहरु बले,
म आकाशमा उडेँ,धरतीमा गुडेँ

तिम्रो आगमनले-
मैले आकाश चिरेँ,म पाताल छिरेँ,
म जूनमा पुगेँ,म सागरमा डुबेँ

बसपार्कमा बिदाईको हात हल्लाउँदै
छुट्टिन गार्हो भैइरहेको प्रेमिकासँग जस्तै
छुट्टिन आँखिर किन गार्हो भैइरहेछ- मलाई !?

तर
समयको यो भन्ज्याङबाट
एउटा हातमा परेवा
र अर्को हातमा आफ्नै टाउको बोकेर
तिमी त जसरी नि छुट्न खोजिरहेछौ !!!

<<  <    [1] 2 3 4 5 6 7 8 9 10    >  >> 


 


कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com